गत शुक्रबारदेखि करिब ५० घण्टासम्म लगातारको अविरल वर्षापछि हुम्लाका मुख्य तथा ग्रामीण सडकमा बाढी, पहिरो र ढुङ्गा खस्दा जिल्लाको यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । चीनसँगको सीमा जोड्ने हिल्सा नाका जाने सिमकोट–हिल्सा सडक, कर्णाली करिडोर र सातवटै गाउँपालिकाका ग्रामीण सडकमा व्यापक क्षति पुगेपछि जिल्लाको सडक सञ्जाल नै प्रभावित भएको छ ।
वर्षा भएपछि हुम्लामा सडकका विभिन्न स्थानमा पहिरो खसेको, ठूला ढुङ्गा सडकमा थुप्रिएको तथा बाढीले कल्भर्ट र सडक संरचना बगाएको तर जिल्ला सदरमुकाममा विद्युत अरोधका कारण तथ्याङ्क संकलन गर्न गाह्रो भइरहेको जिल्ला पहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक शंकर खड्काले बताउनु भयो । सडकका विभिन्न स्थानमा पहिरो खसेपछि सिमकोटदेखि हिल्सासम्म सञ्चालन हुने सवारीसाधन ठप्प भएका छन् । माथिल्लो क्षेत्रमा हिमपातका कारण सडक खुलाउन समस्या भएको र आफ्नो कर्मचारीहरु भने निरन्तर सडक खुलाउने काममा लागिरहेको बताउनु भयो ।
त्यतिमात्र नभई वर्षाले स्थानीयको खेतीयोग्य जमिनमा समेत ठूलो क्षति पुर्याएको खबर आइरहेको बताउँदै प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार हुम्लामा पर्ने कवाडीदेखि हिल्सासम्मको कर्णाली करिडोरमा मात्रै धेरै ठाउँमा पहिरो खसेको छ । कतिपय ठाउँमा ठूला ढुङ्गा खसेका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको उहाँले बताउनुभयो । पहिरो तथा ढुङ्गा पन्छाएर यातायात सञ्चालनमा ल्याउन हिल्सा–सिमकोट सडक योजना, सिमकोट तथा कर्णाली करिडोरको दक्षिणी खण्ड हेर्ने बाजुराको कोल्टी कार्यालयसँग समन्वय गरी कवाडी देखी गिउसी सम्मको सडक आज सञ्चालनमा आएको र निरन्तर काम भए भोली सम्म माथिले भागपनि सञ्चालनमा आउने बताउनु भयो ।
कर्णाली करिडोर मात्र नभई जिल्लाका सातवटै गाउँपालिकाका वडा केन्द्र तथा गाउँबस्ती जोड्ने ग्रामीण सडक पनि पूर्ण रूपमा बन्द छन् । कवाडी देखी ताँजाकोट गाउँपालिकाको केन्द्रमा जाने सडकपनि विभिन्न ठाउँमा क्षेतविक्षेद भएको छ । भने यता अदानचुली गाउँपालिकाको केन्द्र देखी वडा नम्बर ५ र ६ जाने सडक भत्कीदा विद्यार्थीहरुलाई विद्यालयमा हिडेरै जानसमेत समस्या भएको अदानचुली गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य सिंह बोहोरराले बताउनु भयो ।
यता प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार ग्रामीण सडकमा ७० भन्दा बढी स्थानमा पहिरो खसेको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउनका लागि सबै गाउँपालिकासँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।
अवरुद्ध सडक खुलाउन आइतबारदेखि जिल्ला प्रशासन कार्यालयमा कमान्ड पोस्टको बैठक नियमित रूपमा बसेर सम्बन्धित निकायसँग समन्वय तथा सडक सञ्चालनका लागि आवश्यक काम अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रविर शाहीले बताउनु भयो ।
यता सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम सिमकोटमा १० गते गर्ने भनिएका नेपाली कांग्रेसको प्रदेश अधिवेशन पनि तिन दिन पर सरेर १३ गते मात्रै सम्पन्न गरेको छ । अधिवेशनमा सहभागी हुन तल्लो क्षेत्रबाट सिमकोट पुगेका प्रतिनिधिहरूले सडक अवरोधका कारण सदरमुकाम पुग्न दुई दिनसम्म लागेको अदानचुली गाउँपालिका वडा नम्बर १ का उब्जन थापाले बताउनु भयो । उहाँका अनुसार ठाउँ–ठाउँमा पहिरो र ढुङ्गा खसेपछि सवारीसाधन रोकिँदा कतै पैदल हिँड्नुपर्ने अवस्था आएको बताउनु भयो ।
यता उत्तरी हुम्लाको नाम्खा गाउँपालिका–५ को नारा लेक र वडा नं. ६ को हिमालपारिको गाउँ लिमी जाने न्यालु लेकमा करिब साढे तीन फिट हिउँ जमेकाले ती सडकसमेत बन्द भएका छन् हिउँ नपन्छाएसम्म सडक सञ्चालनमा आउने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाका कारण हुम्लाका मुख्य सडक तथा ग्रामीण सडक एकैपटक अवरुद्ध भएपछि जिल्लामा खाद्यान्न, दैनिक उपभोग्य सामग्री, बिरामी तथा अत्यावश्यक सेवाको आवागमनसमेत प्रभावित भएको छ ।–––कालीबहादुर थापा
