हुम्लामा जडिबुटी संकलन गर्न गएका ३२ वर्षीय बोहराको भिरबाट लडेर मृत्यु ।


हुम्लामा जडिबुटी संकलन गर्न वनमा गएका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । सिमकोट गाउँपालिका–२ ठेहे गाउँको पेङफेकका अन्दाजी ३२ वर्षीय रुपसिंह बोहराको भिरबाट लडेर मृत्यु भएको निजका आफन्त जमन बोहोराले बताउनु भयो ।

उहाँका अनुसार शनिबार दिउँसो गाउँबाट करिब चार घण्टाको पैदल दूरीमा रहेको प्याल्या वनमा जडिबुटी संकलन गर्न गएका बोहरा शनिबार रातिसम्म पनि बासस्थानमा नफर्किएपछि उनको खोजी गरिएको र आइतबार बिहानैदेखि खोजी गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेको आफन्त बोहराले बताउनु भयो ।

जडिबुटी संकलन गर्न गएका बोहरा लामो समयसम्म सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो । मृतक बोहराका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी गराइएको छ । घटनास्थलमा प्रहरी परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता चन्द्रबहादुर सिंहले बताउनुभयो । मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी मुचुल्का उठाएपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिमकोट ल्याउने तयारी गरिएको बताउँदै घटनाको वास्तवीक कारण पत्तता लगाउनको लाटिी घटनास्थलमा गएको बताउनु भयो ।

हुम्लाका उच्च भेग तथा दुर्गम वन क्षेत्रमा जडिबुटी संकलन गर्न जाने क्रममा भिरपाखामा सावधानी अपनाउनुपर्ने जोखिमलाई यस घटनाले पुनः उजागर गरेको छ ।

प्रकाशित मितिः     २५ आश्विन २०८३, आईतवार १७:५८  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *