असोज १० र ११ गते परेको हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमि क्षेत्रमा करिब ३०० देखि ३५० वटासम्म याक, झोपा र घोडा पाटनमै थुनिएका छन् । हिमपातपछि सडकमा जमेको हिउँ पन्छाउन नसक्दा पशु चौपायाको अवस्था बुझ्नसमेत कठिन भएको छ ।
नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार हिमपात हुनुअघि चराउनका लागि पाटनमा लगिएका पशु चौपाया असोज १० गतेदेखि लगातार परेको हिउँका कारण उतै थुनिएका बताउनु भयो । पशु चौपाया जीवित छन् वा मरेका छन् भन्नेबारे अहिलेसम्म यकिन जानकारी हुन नसकेको उहाँले बताउनुभयो ।
लिमि क्षेत्रका तिल, हल्जी र जाँङ गाउँका स्थानीयवासीका पशु चौपाया थुनिएको बताउँदै वडाध्यक्ष तामाङले टाक्चीदेखि माथिल्लो क्षेत्रमा जान दुई–तीन पटक प्रयास गरे पनि सडकमा जमेको हिउँका कारण जान नसकिएको बताउनु भयो । उहाँका अनुसार पशु चौपायाको अवस्था बुझ्न तथा सम्भावित उद्धारका लागि शनिबार पुनः त्यसतर्फ जाने तयारी गरिएको बताउनु भयो ।
पशु चौपाया थुनिएपछि स्थानीयवासीले उद्धारका लागि गाउँपालिकासँग आग्रह गरेका छन् । तर, हिमपातका कारण सडक अवरुद्ध हुँदा उद्धारमा समस्या भएको छ ।
यसैबीच, नाम्खा गाउँपालिकाले अवरुद्ध सडक खुलाउन हिउँ पन्छाउने कार्यका लागि आवश्यक कोटेसन पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ । गाउँपालिकाले असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षा तथा भारी हिमपातका कारण विभिन्न स्थानका सडकमा जमेको हिउँ पन्छाएर तत्काल पशुवस्तुहरुको उद्धार गर्नु पर्ने भएकाले हिउ पन्छाउनको लागि कोटेसन समेत जारी गरीएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन बहादुर शाहीले बताउनु भयो ।
उहाँका अनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ को उपनियम (१) बमोजिम विशेष परिस्थितिमा ग्याउखोला र च्याक्पालुङ क्षेत्रमा रहेका पशुवस्तुहरु तत्काल उद्धार गर्नुपर्ने अवस्था रहेकाले सम्बन्धित निर्माण व्यवसायीलाई आवश्यक कागजातसहित कोटेसन पेस गर्न अनुरोध गरिएको बताउनु भयो ।
हिमपातका कारण सडक अवरुद्ध हुँदा लिमि क्षेत्रका पशु चौपायाको अवस्था अज्ञात रहनुका साथै तिनको उद्धारमा समेत कठिनाइ देखिएको छ । स्थानीयवासीले सडकमा जमेको हिउँ छिटो पन्छाएर पशु चौपायाको अवस्था पत्ता लगाउन र आवश्यक उद्धार गर्न सम्बन्धित निकायसँग अपेक्षा गरेका छन् ।
