सवारी दुर्घटना न्यूनीकरण गरी सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यले हुम्लामा सवारी दुर्घटना नगर्ने प्रतिबद्धतासहित हस्ताक्षर अभियान सञ्चालन गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाको आयोजनामा मंगलबार बिहान सदरमुकाम सिमकोटस्थित काठेचुलीमा सञ्चालन गरिएको अभियानमा सरकारी निकायका प्रतिनिधि, यातायात व्यवसायी, सवारी चालक, सहचालक तथा सञ्चारकमले प्रतिबद्धतासहित हस्ताक्षर गरेका छन् ।
अभियानमार्फत ट्राफिक नियमको पालना गर्ने, तीव्र गतिमा सवारी नचलाउने, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने तथा यात्रुको सुरक्षालाई प्राथमिकता दिने सन्देश प्रवाह गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताउनु भयो उहाँका अनुसार चालक, सहचालक र यातायात व्यवसायीलाई जिम्मेवार बनाउँदै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
अभियानलाई हस्ताक्षर गर्दै प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले ट्राफिक नियमको प्रभावकारी पालना र जिम्मेवार सवारी सञ्चालनबाट दुर्घटनाको जोखिम घटाउन सकिने भन्दै अभियानमा गरिएको प्रतिबद्धता व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको प्रयाससँगै चालक, यातायात व्यवसायी, यात्रु र आम नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताउनु भयो ।
