दसैँमा गाउँ फर्किनेको लर्को, हुम्लाका गाउँघरमा विवाहदेखि सफलताको खुसीयालीसम्म ।


नेपालीको महान् चाड बडादसैँ भित्रिएसँगै हुम्लाका गाउँबस्तीमा चहलपहल बढेको छ । रोजगारी, ज्यालामजदुरी तथा उच्च शिक्षाका लागि गाउँबाहिर रहेका स्थानीयवासी दसैँ मनाउन घर फर्किन थालेपछि गाउँघरमा रौनक छाएको हो । वर्षौदेखि बाहिर बस्दै आएका आफन्त घर फर्किएसँगै कतिपय गाउँमा विवाह, व्रतबन्ध तथा विभिन्न सफलताको खुसीयाली मनाउने क्रमसमेत बढेको छ ।

हुम्लाका सातवटै स्थानीय तहमा दसैँ मनाउन घर फर्किनेको चहलपहल देखिन थालेको छ । छिमेकी मुलुक भारतसँगै नेपालगन्ज, सुर्खेत, काठमाडौँ, पोखरा, चितवनलगायतका सहरमा अध्ययन, रोजगारी तथा मजदुरी गर्दै आएका स्थानीयवासी घर फर्किन थालेपछि गाउँबस्तीमा चाडपर्वको रौनक थपिएको हो ।

वर्षदिनपछि घर फर्किने आफन्तको स्वागतमा परिवारका सदस्य तथा गाउँले जुट्ने गरेका छन् । यस वर्ष लोकसेवा उत्तीर्ण गरेका, सरकारी सेवामा प्रवेश गरेका तथा विवाह गरेर घर नफर्किएका व्यक्तिसमेत दसैँको अवसर पारेर गाउँ फर्किएपछि गाउँघरमा खुसीयाली छाएको छ ।

घर फर्किनेको आगमनसँगै कतिपय गाउँमा विवाह र व्रतबन्धजस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना भइरहेका छन् । गाउँ गाउँमा भलिवल फुटलका आयोजना समेत भैरहेका छन् । लामो समयदेखि घरबाहिर रहेका परिवारका सदस्य एकै ठाउँमा भेला हुने अवसर मिल्ने भएकाले दसैँलाई यस्ता कार्यक्रम आयोजना गर्ने उपयुक्त समयका रूपमा लिने गरिएको छ ।

अदानचुली गाउँपालिका–३ का पर्बल फडेराका अनुसार दसैँको समयमा घर फर्किनेको सङ्ख्या बढेसँगै गाउँमा विवाह तथा अन्य उत्सव गर्ने क्रम पनि बढेको छ । उहाँका छोरा पनि विवाहपछि घर फर्किएकाले अहिले छोराको विवाहको कार्यक्रम गर्ने तयारी बताउनु भयो ।

त्यस्तै, अदानचुली गाउँपालिका–३ गोरपालीका नन्द रोकायाका छोरा पनि यसै वर्ष लोकसेवामार्फत नेपाली सेनामा भर्ती हुनुभएको छ । दसैँ बिदामा घर फर्किएपछि परिवार तथा आफन्तले उहाँको सफलतालाई खुसीयालीका रूपमा मनाइरहेका छन् ।

गाउँघरमा घर फर्किने आफन्तको स्वागत गर्ने परम्परासमेत विशेष हुने गरेको छ । कतिपय स्थानमा बाहिरबाट आएका व्यक्तिलाई गाडीबाट ओर्लिएलगत्तै बाजागाजासहित स्वागत गर्ने, उनीहरूले अध्ययन गरेको विद्यालयसम्म परिक्रमा गराउने र बाजागाजासहित घर र्पुयाउने चलन छ ।

घर पुगेपछि गाउँका भद्रभलाद्मी, आफन्त तथा छिमेकीलाई निमन्त्रणा गरेर मासुभात खुवाउने, मागल तथा चाँचरी, देउडा खेल्ने र सामूहिक रूपमा उत्सव मनाउने गरिन्छ । यसले गाउँमा आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक परम्परालाई थप बलियो बनाउने गरेको स्थानीयवासी देव फडेराले बताउनु भयो ।

दसैँ तथा तिहारजस्ता चाडपर्वले टाढिएका परिवारका सदस्यलाई एकै ठाउँमा भेला गराउनुका साथै गाउँघरमा सामाजिक सम्बन्ध नवीकरण गर्ने अवसरसमेत प्रदान गर्छन् । विशेषगरी रोजगारी र अध्ययनका लागि बाहिर बस्ने हुम्लीका लागि दसैँ घर फर्किने, परिवारसँग समय बिताउने र गाउँको संस्कृतिसँग जोडिने महत्वपूर्ण अवसर बनेको छ ।

यसरी दसैँको आगमनसँगै हुम्लाका गाउँबस्तीमा आफन्तको आगमन, विवाह, व्रतबन्ध र विभिन्न सफलताको खुसीयालीले चहलपहल बढाएको छ । चाडपर्वले गाउँघरमा उत्साह थप्नुका साथै परम्परा, संस्कृति र पारिवारिक सम्बन्धलाई जीवन्त राख्नसमेत महत्वपूर्ण भूमिका खेलेको छ ।

प्रकाशित मितिः     २७ आश्विन २०८३, मंगलवार १३:१०  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *