जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क आँखा शिविरमा ५ सय २० जनाले आँखा जाँच गराएका छन ।
बिहिबारबाट सुरु भएको निशुल्क आँखा शिबिर तथा मोती बिन्दु शल्यक्रिया शिबिरमा ४० जनाको मोतीबिन्दु र १ जनाको टेरिजियमको निःशुल्क शल्याक्रिया गरिएको अदानचुली गाउँपालिका स्वास्थ्य शाखा संयोजक बिनोद बुढाले बताउनु बताउनु भयो ।
नेपाल नेत्रज्योति सङ्घ हुम्ला शाखा, नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित हिमालय आँखा अस्पताल पोखराको आर्थिक एवं प्राविधिक सहयोगमा तथा अदानचुली गाउँपालिकाको समन्वयमा सञ्चालित सो तीन दिने शिविरमा निः शुल्क आँखा परीक्षण, औषधि वितरण, मोतीबिन्दु शल्यक्रिया र चस्मा वितरण गरिएको छ ।
अदानचुली गाउँपालिका लगायत छिमेकी गाउँपालिकाका मुगुको सोरु, हुम्लाको ताँजाकोट र सर्केगाड गाउँपालिकाका बिरामीहरुलाई लछित गर्दै आयोजना गरिएको सो शिविरमा हिमालय आँखा अस्पताल पोखरामा सेवारत नेत्ररोग विशेषज्ञ डा अनिल पराजुलीको नेतृत्वको स्वास्थ्य टोलीले सेवा प्रदान गरेको हो ।
नेत्ररोग विशेषज्ञ डा पराजुलीले मोतीबिन्दु रोग पत्ता लागेका सबै सेवाग्राहीको निःशुल्क शल्यक्रिया गरिएको बताउनु भयो । शिविरमा बालबालिका, ज्येष्ठ नागरिक तथा आँखाका समस्या भएका सेवाग्राही लाभान्वित भएका छन । न्यून दृष्टि भएका बालबालिका तथा फरक क्षमता भएका सेवाग्राहीका लागि आवश्यकता अनुसार थप उपचार तथा चस्मा वितरण गरिएको बताउनु भयोे । सो शिविर सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी शाखा र जिल्ला आँखा उपचार केन्द्रले पनि समन्वय रहेको थियो । –––कालीबहादुर थापा
