म्यादी प्रहरीका लागि हुम्लामा १ हजार २ सय २२ जनाको उम्मेदवारी परेको छ ।
सरकारले तोकेको फागुन २१ गते हुँन गदैरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी हुम्ला जिल्लामा नेपाल प्रहरीतर्फ ५ सय ४९ जना र सशस्त्र प्रहरी वलतर्फ ४६ जना गरि जम्मा ५ सय ९५ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि दरखास्त आह्वान गरिएकोमा आज सम्म १ हजार २ सय २२ जनाको उम्मेदवारी परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी शंकर खड्काले बताउनु भयो ।
पुस २५ गतेदेखि भर्ना आवेदन खुला गरी आज माघ १ गते बेलुका ४ बजेसम्म अन्तिम दरखास्त मिति रहेको थियो । उक्त निर्धारीत समय सम्म ९ सय ५ जना पुरुष र ३ सय ११ जना महिलाले म्यादी प्रहरीका लागि आवेदन दिएका हुँन् ।
निर्वाचन प्रहरीको नियुक्ति अवधि ४० दिनका लागि रहनेछ भने आवश्यकता अनुसार सरकारले अवधि थप गर्न सक्ने व्यवस्था समेत गरेको छ । निर्वाचन प्रहरीले प्रतिदिन ८ सय ६९ रुपैयाँका दरले पारिश्रमिक पाउनेछन् भने जस अनुसार ४० दिनको कुल पारिश्रमिक ३४ हजार ७ सय ७६ रुपैयाँ तोकिएको छ ।
हुम्लामा प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभा सदस्यका लागि दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा कुल ३४ हजार ३ सय ७२ जना मतदाता रहेका छन्, जसमा १८ हजार २१ जना पुरुष र १६ हजार ३ सय ५१ जना महिला छन् । जिल्लाभर ६० मतदान स्थलमा ६४ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिम बहादुर रोकायाले बताउनु भयो ।
