हुम्ला जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा ।


हिमाली जिल्ला हुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

सात वटा गाउँपालिका रहेको हुम्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका मापदण्ड पूरा गरी पुर्ण खोप सुनिश्चितता घोषणा गरीसके पश्चात आज जिल्लालाई घोषणा हो ।

जिल्ला सदरमुकाममा एक औपचारिक कार्यक्रमको आयोजना गरी जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले आज औपचारिकरुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको छ ।

बच्चा जन्मे देखि १५ महिना सम्मका बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै १३ किसिमका खोप लगाएको पाइएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख उमाकान्त तिवारीले बताउनु भयो ।

आगामी दिनमा पनि सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप लगाउन सबैको समन्वय र सहकार्य आवश्यक रहेकोले खोप अभियानलाई निरन्तरता दिँदै खोप लगाउनबाट कसैलाई पनि वञ्चित नगरिने बताउँदै खोप समन्वय समितिका संयोजक शर्माले महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मीले गरेको सहयोगको प्रशंसा गर्नु भएको छ ।

यस अभियानलाई महत्वपुर्ण सहयोग गर्ने र हरेक गाउँ टोलमा गई खटिदा गाली खाने महिला स्वास्थ्य स्वयं सेविकाहरु भएकाले उनीहरुले पूर्ण खोप घोषणाका लागि गरेको काम निकै उदाहरणीय र प्रशंसायोग्य रहेकाले हरेक स्थानीय तहले उनिहरुलाई सम्मान गर्नु पर्नेमा प्रमुख जिल्ला अधिकारी नारायण पाँडेयले जोड दिनु भयो ।

सोही कार्यक्रमको अवसरमा जिल्लाका ७ वटै स्थानीय तहलाई प्रमाणपत्र समेत प्रदान गरीएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख तिवारीले बताउनु बताउनु भयो । –––कालीबहादुर थापा

प्रकाशित मितिः     २० असार २०८२, शुक्रबार १८:४७  |