मुगु- मुगुमा एक जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट रिपोर्ट पोजेटिभ देखिएको छ।
सत्याड गाउँपालिका–५, का एक जनामा र्यापिड डाइगोनिस्ट टेस्ट रिपोर्ट पोजेटिभ देखिएको मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले जानकारी दिए।
“सत्याड गाउँपालिकामा आज र्यापिड टेस्ट गरेका थियौं, जसमध्ये एक जनामा पोजेटिभ देखियो,” ज्ञवाली भने, “टेस्ट रिपोर्ट पोजेटिभ देखिए पनि कोरोनाको लक्षण देखिएको छैन।”
गाउँपालिका अध्यक्ष उब्जनबहादुुर शाहीले टेस्ट रिपोर्ट पोजेटिभ देखिएकाको स्वाब परीक्षण गर्न केही दिन लाग्ने बताए।
“गाउँपालिकामा भोलि पनि र्यापिड टेस्ट गर्ने कार्यक्रम छ,” उनले भने, “भोलि पनि कसैमा एन्डीबडी पोजेटिभ देखिन सक्छ, त्यही भएर सबैको स्वाब पर्सि पठाउने कि भनेर छलफल भइरहेको छ।”
भौगोलिक विकटताका कारण पीसीआर टेस्ट (स्वाब परीक्षण)का लागि सुर्खेत पठाउन समस्या हुने उनको भनाइ छ। गाउँपालिकाले आज ५५ जनामा र्यापिड टेस्ट गरेको थियो।
इन्टिबडी पोजेटिभ देखिएका व्यक्ति रुपैडिहा नाका हुँदै चैत ७ गते गाउँ पुगेका थिए। आरडीटीले पोजेटिभ देखाए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ। इन्टिबडी पोजेटिभ देखिएका व्यक्ति ५० वर्षमाथिका छन्।