आज विजया दशमी, टीकाको साइत बिहान १०ः१९ बजे


हुम्ला । हिन्दु नेपालीहरुको महान चाड बडा दसैंको आज मुख्य दिन हो । आज नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जन गरी मान्यजनका हातबाट नवदुर्गा माता भवानीको प्रसादस्वरुप टीका लगाउने धार्मिक प्रचलन छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विर्सजनको साइत आज विहान १० बजेर ११ मिनेट रहेको छ । त्यसैगरी टीकाको उत्तम साइत बिहान १०ः१९ बजे रहेको समितिले जनाएको छ ।

टीका लगाउँदा चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुन्छ । त्यसैले आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका थाप्ने मानिस पश्चिम तर्फ फर्कनुपर्छ भने टीका लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ ।

यसो गर्दा टीका लगाइदिने व्यक्तिको दायाँतर्फ चन्द्रमा पर्छ भने टीका थाप्ने व्यक्तिको सम्मुख पर्छ । यसरी बसेर टीका लगाउँदा शुभ हुने धार्मिक विश्वास छ ।

निश्चित समयमा टीकाको साइत तोकिए पनि विजयादशमीका दिन दिनभर टीका लगाउन कुनै बाधा नरहेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।

देशका धेरैजसो स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशीर्वाद लिने परम्परा रहिआएको छ ।

आज अर्थात विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद स्वरुप टीका लगाउने धार्मिक परम्परा हो ।

आज टीकाकै दिन बिहान ८ः४७ बजे तुलजा भवानीको यात्रा गराउने साइत जुरेको छ । तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत भने बिहान ९ः४९ बजे रहेको छ । खड्गयात्रासमेत आजकै दिन गरिन्छ ।

प्रकाशित मितिः     १० कार्तिक २०७७, सोमबार ०८:४२  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *