निर्णय कार्यन्वयन गर्न अनरोस्ववियू हुम्ला द्धारा जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापन पत्र पेश


मंसिर ८ हुम्ला । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्न माग गर्दै अनरोस्ववियू हुम्लाले प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरी समक्ष ज्ञापन पत्र पेश गरेको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले पटक पटक बैठक बसेर कागजमा निर्णय गर्ने तर कार्यन्वय नगरेको भन्दै तत्काल सम्पुर्ण निर्णय कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गर्नको लागि ज्ञापन पत्र बुझाएको अनरोस्ववियुका जिल्ला कार्यालय सदस्य जयराज सन्ज्यालले बताउनु भयोे ।

संयोजक गणेश भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ६ बुदे ज्ञापनपत्र बुझाएको सदस्य सन्ज्यालले जानकारी दिनु भयो ।

उनले भने “केहि दिन अघि मात्र बसेको जिल्ला बिपद ब्यबस्थापन समितिको बसेको बैठकले बिभिन्न १६ वटा निर्णय गर्यो तर उक्त निर्णय मध्ये बिद्यालय बन्द बाहेक अन्य कुनै पनि निणर्य नभए पछि बाध्य भएर ज्ञापन पत्र बुझाएर दबाब दिएका छौँ”।

आज बुझाएको ज्ञापनपत्रमा जिल्लाका सातवटै स्थानीय तहमा कोरोना परिक्षणको लागी नमुना संकलन गर्नुका साथै उचित व्यवस्थापन सहितका क्वारेन्टाइन, आइसोलेसन कक्षको व्यवस्था गर्न माग गरीएको छ यस सँगै जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यामिक विद्यालयमा अध्ययनरत ५३ जना विद्यार्थीमा कोरोना संक्रमण देखिनुका साथै हुम्ला जिल्ला उच्च जोखिम रेडजोनमा भएको भएता पनि बजारमा मानिसको आवतजावत, भिडभाड नघटेको हुँदा यो संक्रमणले भयावह रुप लिन सक्ने भएकाले तत्काल जिल्ला भित्र आवतजावत जमघटमा कडाई गर्न माग गरेको छ ।

कोरोना नियन्त्रणमा शैक्षिक संस्था बन्द गरेर मात्र नहुँने भएकाले यस्तो अवस्थामा शिक्षणका बैकल्पिक उपायको खोजी गरेर तत्काल कक्षा सञ्चालनको व्यवस्था गर्न अनेरास्ववियूले माग गरेको छ । जिल्लाका सातवटै स्थानिय तहमा कोरोना संक्रमणको उच्च जोखिमको क्षेत्रलाई पहिचान गरेर उच्च जोखिम भएका स्थान बाहेक अन्य क्षेत्रका विद्यालयहरु निश्चित संख्यामा विद्यार्थीहरुको उपस्थित गरेर कोभिड १९ का आधारभूत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर शैक्षिक संस्था पुन सञ्चालनमा ल्याउन प्रमुख जिल्ला अधिकारी मार्फत माग गरेको हो ।

मङ्सिर ९ गतेबाट सञ्चालन हुन लागेको कक्षा १२ को परिक्षालाई मध्यनजर गर्दै प्रत्येक परिक्षा केन्द्रमा अनिवार्य कोभिड १९ हेल्थ डेस्ड बनाएर परिक्षा सञ्चालन गर्नुका साथै सामाजिक दुरी कायम गरेर परिक्षा सञ्चालन गर्न माग गरिएको छ ।

अनेरास्ववियू हुम्लाले बुझाएको ज्ञापन पत्र बुज्दै प्रमुख जिल्ला अधिकारी गिरीले भने आफुले सक्दो सम्म बैठकमा कुरा गर्ने गरेको तर जिल्लाका स्थानीय तहले कार्यन्वयनमा ल्याउन नसकेको प्रतिकृया दिनु भयो ।

प्रकाशित मितिः     ८ मंसिर २०७७, सोमबार २०:०६  |