प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम,प्रदेशकाे नाम मधेस


माघ ३ काठमाडौं । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । ७८ भनेको दुई तिहाई भन्दा बढी हो । प्रदेश सभामा १०४ जना सांसद छन् । दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन ।

प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव ल्याएको थियो । पछि त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो ।जसमध्ये जनकपुरमा दुई तिहाइ बहुमत मत प्रकट भएको हो । प्रस्ताव अनुसार अब प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम हुनेछ ।                                                            वीरगञ्ज पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्मको सीमाना र वीरगञ्ज महानगरपालिका भरीलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव पनि आएको थियो ।                                                                    प्रदेश २ को नाम मधेस प्रदेश तोकिएको छ । सोमबार स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो ।   प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाईभन्दा बढी मतले प्रदेशको नाम ‘मधेस’ स्वीकृत भएको हो ।

प्रकाशित मितिः     ३ माघ २०७८, सोमबार १७:३३  |