हुम्ला । जिल्लामा नयाँ निर्माण भएका प्राय घरहरुमा जस्ता पातोको छानो छाउँता गाउँको मौलिकता हराउने खतरा बढ्दै गएको छ । काठको प्रयोग गरी माटोले छाएका घरहरुको संख्या उल्यखनिय रुपमा घट्दै जाँदा गाउँको मौलिकता हराउने खतरामा पुगेको हो । एक दशक अघिसम्म काठ, ढुङ्गा माटो र खरका मात्र घर भेटिने हुम्लाका ग्रामीण क्षेत्रमा अहिले त्यस्ता घर भेटिन छोडेका छन । अहिले बनेका घर ढुङ्गा माटो र काठले नभई जस्ता तथा कंक्रिटपाताले छाएका मात्रै पाइन थालेका छन । ढुङ्गा काठ तथा माटोले छाना छाउन छोडिएको छ ।
सडक संञ्जालले ग्रामीण क्षेत्र जोडिएसँगै बजारिया रहनसहन पुगेसँगै घर पनि बजारकै जस्तो बन्न थालेका हुन । पहिले गाउँका घर ढुङ्गा र माटोले सलक्क मिलाएर छाइएका रातोमाटो र सेतो कमेरोले पोतिएका भएपनि सहर बजारबाट जो कोही गाउँमा पुग्दा ती घरहरुले मनै लोभ्याउने गर्थे तर अहिले बन्ने गरेका कङ्क्रिटका घरहरुले जिल्लाका गाउँको पहिचान लोप हुँदै गएको छ । हरेक दिन गाउँमा सडक निर्माण भइरहेका र त्यसको प्रभाव ती पुराना परम्परागत घरहरुमा परेको छ । परम्परागत माटो तथा ढुङ्गे घरहरु जिल्लाका गाउँबाट बिस्तारै ओझेलिँदै गएका छन ।
जिल्लामा ६ वर्ष अगाडिसम्म अधिकांश घरहरु काठ रमाटोले छाइएका थिए तर अहिले ती बस्तीहरुमा विभिन्न रङ्गका जस्तापाताले छाएर घरहरु रङ्गीचङ्गी देखिन थालेका छन । अहिले गाउँलेहरुले सहर बजारकै जस्तो घर बनाउन थालेको स्थानीयवासीहरुले बताउने गरेका छन । सानैदेखि ढुङ्गा, माटो र खरका घरमा खेल्दै हुर्किएका भएपनि अबका पुस्ताले त्यस किसिमको घर देख्न नपाउने ताँजाकोट गाउँपालिका वडा नम्बर ३ का स्थानिय महेश थापाले बताउनु भएको छ । जिल्लाका गाउँमा अहिले सिमेन्टका पक्की घर बन्न थालेका छन, सिमेन्ट र जस्ता पाताका घरले गाउँको मौलिकता हराउन थालेको आभाष भएकोे बताउनु भएको छ ।
सोही जस्तापाताले छाएका घरका कारण स्थानियले लगाउँदै आएको रैथाने बाली समेत भित्राउन समस्या हुदै आएको छ । गाउँमा उत्पादन हुने मकै, जौँ, उवा, पापर, सिमि, कोदो र गहुँ लगायतका बाली परम्परागत घरका छतमा चुट्ने गरेको भएपनि जस्तामा बाली चुट्न नमिल्दा समस्या भएको स्थानियले बताएका छन।