अदानचुलीमा निर्माण भएको फोरजी टावर सञ्चालनमा आउन समय लाग्ने


हुम्ला । जिल्लाको अदानचुली गाउँपालिकाको वडा नम्बर १ देखि ६ वटा वडाका प्रत्येक वस्तिहरुमा सञ्चार सेवाको पहुँच पुर्याउनका लागि फोरजी निर्माण कार्य सम्पन्न भएपनि सञ्चालनमा आउन अझै समय लाग्ने भएको छ ।

अदानचुली गाउँपालिका वडा नम्बर ५ को च्याम भन्ने स्थानमा जडान भएको फोरजी सेवाका सबै काम पुरा भएपनि लिंक पठाउने काम नहुँदा सञ्चालनमा आउन अझै केही समय लाग्ने दुर संञ्चार प्राधिकरण कार्यालय नेपाल टेलिक हुम्लाका निमित्त कार्यालय प्रमुख रिङजीन आग्मु लामाले बताउनु भयो ।

फोरजी सेवाका लागि सबै काम भएको तर लिंक पठाउनका लागि समय लाग्ने देखिएको छ । काठमाण्डौँबाट प्राविधिकको टोली आएपछि दुई, तीन दिनमा गाउँपालिका भरी फोरजी सेवाले काम गर्ने भएको निमित्त प्रमुख लामाले बताउनु भयो ।

अहिले छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिका वडा नम्बर ३ को लामाकाँधमा राखिएको फोरजीको टावरले अदानचुली गाउँपालिका सहित हुम्लाका दक्षिण भेगका गाउँपालिकामा काम गरिरहेको नेपाल टेलिकम हुम्लाले जनाएको छ ।

मुगुको लामाकाँधमा राखिएको टावरले अहिले हुम्लाको अदानचुली, ताँजकोट, सर्केगाड लगायतका गाउँपालिकाका अधिकांस वस्तिहरुमा काम गरिरहेको जानकारी प्राप्त भएको छ ।

अदानचुलीमा जडान भएको फोरजी सुचारु भएपछि यहाँका सेवाग्राही र नागरीकलाई इन्टरनेटको पहुँचमा जोडिन सहज हुने भएको छ । यहाँका नागरीक सामाजिक सञ्जालदेखि देश विदेशमा रहेका आफन्त लगायतसँग सञ्चारको पहुँच जोडिन सक्ने भएका छन ।

प्रकाशित मितिः     १३ फाल्गुन २०८१, मंगलवार १९:१०  |