हुम्ला । सर्वसाधारण किसानलाई खुसी हुन ठूलो कुरा चाहिँदैन । समयमा परेको पानीले नै किसानको मुहारमा खुसी छाएको छ । बिहिबार मध्यरातयता झरी जसरी परेको पानीले यहाँका किसानको मुहारमा खुसी छाएको हो ।
मन्दमन्द परेको पानीले रुखो जग्गाको माटो मज्जाले गलेपछि अब खनजोत गर्न पाइने भएको छ । पानीबिना ओइल्याउँदै गएका जेठासी बाली गहुँ, जौ, उवा, मोटर, लगायतका अन्य बाली सप्रिने भएका छन । त्यसैगरी, खेतबारी तराकारी लगाएका नागरीकलाई समेत तरकारी फल्ने आशा जागेको छ ।
यसपालि पूरै हिउँद पानी नपरी बित्दा छट्पटिएका किसानमा अब बालीनाली अनुकूल हुने आश जागेको छ । वर्षाको पानीको जादू दुई दिनमै स्वरुप फेरीने देखिएको किसानको भनाइ छ । पछिको मौसम ठिकठिकै रहे वैशाखी तरकारीले मनमा फिक उत्पादन दिने आश जगाएको अदानचुली २ का कल बहादुर बुढाले बताउनु भयो ।
त्यसैगरी, फलपूmलखेतीका किसानले पनि पछिल्लो वर्षा अमृत बनेको प्रतिक्रिया दिनु भएको छ । ‘पात र हाँगा नदेखिनेगरी खिलेको मज्जर रूखका हाँगा र पातमा बसेको जालो र काला धब्बा सबै पखालिएका छन्, फलका रूख परैबाट चहकिला देखिएका छन भने भर्खर फुल्दै गरेका आरु, चुली, खामु, खुर्पानी, लगायतका फलफुलका बिरुवा समेत मौलाउने देखिएको छ ।
पछिल्लो वर्षाले जालो, धब्बा पखाल्ने सँगै खेतबारीमा छरिएको बालीको जरामा पर्याप्त चिस्यान पुगेको हुँदा मधुवा डढुवारोगको प्रकोप पनि कम हुने किसानको विश्वास छ । अहिलेको वर्षा राम्ररी टिकोला लाग्न, टिकोला बढाउन, डाँठ दह्रो बनाउन अमृत नै भएको बुढाले बताउनु भएको छ । पानी परेलगत्तै फलफूलका रूख फेरिएपछि किसानले राहत महसुस गरेका छन ।
जिल्लामा गाउँपालिका, सर्केगाड गाउँपालिका, ताँजाकोट गाउँपालिका, सिमकोट गाउँपालिका, चंखेली गाउँपालिका र खार्पुनाथ गाउँपालिकामा भन्दा बढी बस्ती फलफूल र तरकारीखेतीका पकेट क्षेत्र मानिन्छन । यतिबेलाको बर्षाले जेठासी बालीलाई मात्रै नभइ स्वाउ खेतीलाई राहत हुने भएको छ ।
माटोमा चिस्यान नहुँदा तरकारीका बेला (लहरा) र बोट कक्रिँदै गएका बेला परेको पानी अमृत भएको छ । पछिल्लो वर्षाले गहुँका बालामा पनि पोटिलो दाना लाग्ने किसानको भनाइ छ । यसैगरी, अरहर (रहरी), मुसुरोलगायत दलहनका बोट पनि हरिया भएका छन् । जताततै बुङ्बुङ्ती उड्ने धुलोबाट राहत दिनसँगै ह्वात्तै बढेको गर्मी घटाएर पछिल्लो वर्षाले वातावरण शीतल बनाउने भएको छ ।
राम्ररी पानी परेर आकाश उघ्रेपछि अब खेतीपातीका काम गर्न सहज हुने किसानको भनाइ छ । पछिल्लो वर्षाले खेतबारीको माटोमा पर्याप्त चिस्यान भएपछि अब मकै छर्ने, बर्खे कोदो र धानको ब्याड राख्ने काम सुरु गर्न सकिने किसान बताउँछन । बर्षा नहुँदा चिस्यान नभएर खनजोत गर्न नसकिएको खेत अब जोत्न सकिने अदानचुली–२ का अर्का किसान स्यामजोर भण्डारीले यसअघि चिस्यान नभएर रुखिएको बाँझो जग्गा अब खनजोत गरी बर्खे बाली लगाउने तयारी गरिने बताउनु भएको छ ।
पछिल्लो वर्षाले पशुपालक किसान पनि रमाएका छन् । अब चरन क्षेत्रमा नयाँ घाँस पलाउने किसान बताउँछन । अब यसअघि माटो रुखिएर मरेको दुबो र अन्य घाँस पलाएपछि केही दिनभित्रै पर्याप्त चरन हुने अदानचुली १ का रणबिर दानीले बताउनु भएको छ । यस अगाडी सबै ठाउँमा आगालागी भएकाले अब बाख्रा लगायतका पशु बस्तुलाई नयाँ घाँस पालाउने आसामा रहेको बताउनु भएको छ ।
यो वर्षाले वन क्षेत्रका पातपतिङ्र मज्जाले भिजाएको हुँदा अब डढेलो पनि पहिलेजस्तो नफैलने वन क्षेत्र नजिकका बासिन्दाको भनाइ छ । यसपालि फागुन मध्यदेखि नै बढेको डढेलोले वन सखाप पारेको छ ।