श्रीनगर । हुम्ला एक हिमली जिल्ला हो । हुम्लाका आधिकांश हिमाली र पहाडी थुम्काहरु यतिबेला लाली गुँरास फुलेर राताम्य भएका छन् ।
वसन्त यामसँगै फेरिने पालुवाहरुले मात्र हैन राष्ट्रकै गरीमा समेत रहेको थरीथरीका लालीगुराँसका फुलहरुले पहराहरुलाई समेत सिन्दुरे बनाइदिएको छ । अक्करे कालो पत्थरिलो र हरिया भिरहरुमा समेत बान्की दिँदै फुलेको लालीगुराँसले मानौ निर्जन भित्ताहरुमा प्राण भरिदिएको छ ।
१३ देखि १७ थरिका गुराँसहरु हुम्लामा फुल्ने गरेको पाइन्छ । यद्यपी कुनै ठोस अध्ययन हुन सकेको छैन । हुम्लाको ताँजाकोट गाउँपालिका वडा नम्बर ४ र ५ को मदाना, अदानचुली गाउँपालिकाको पुद्दुकोट, सिष्टी, पुद्दु, खलसेरा, बुँमिडाँडा, सर्केगाड गाउँपालिकाको उनापानी, रिप, राहदेब, लगायत दर्जनौ चुली रताम्मे र सेताम्बे भएका छन् ।
यहाँको अर्काे बिशेषता भने चैते दँशैको दिन हरेक घरमा ल्याएर भवानी माईको पुजा आजा गर्न भन्दै घरमा चढाउने र घरहरुलाई लालि गुँरास, मेहेल, डौली फुल, सिम्पाडी फुल, भत्कुँडी लगायतका बिभिन्न भुलहरुले सजाउने प्रचलन रहेको छ । घरहरुलाई लिपपोत गरी चिटिक्क पारेर सजाउने गरिएको हो ।
अदानचुली गाउँपालिकास्थित वडा नम्बर २ र ३ का सबै लेकाली चुचुरोहरु, अदानचुली र ताँजाकोट गाउँपालिकाको सिमाना समेत बनेको खौला लगायत लेकाली खोरीयानहरु सबै राताम्मे र मनोरम बनेका छन् ।
तर पछिल्लो समय पहाडी बनजंगलहरुमा समेत गरिने सडक विस्तार, अतियन्त्रित फडानी, डढेलो लगायतको कारण लालि गुराँसमा सङ्कट चुलिँदो अबस्था छ ।