१९ वैशाख, काठमाडौं । सरकारले अतिक्रमित जग्गा खालि गर्ने क्रममा सरकारी जग्गामा बनेको विद्यालयहरू पनि भत्काउने क्रमलाई निरन्तरता दिइरहेको छ ।
शनिबार बिहान बालाजुस्थित एक विद्यालय पनि भत्काइएको छ । २०५३ सालदेखि सञ्चालित श्री बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयको भवन डोजर लगाएर भत्काइएको छ ।
कक्षा १ देखि ८ सम्म रहेको यस विद्यालयमा १२० बढी विद्यार्थी रहेको प्रधानाध्यापक शान्तराम श्रेष्ठले जानकारी गराए ।
बालाजु–१९ मा रहेको सुकुवासीवस्तीका भवन भत्काउने जानकारी १५ वैशाखमा जानकारी गराइएको थियो । सरकारी जग्गामा बसेको विद्यालय भवन नभत्काउन आग्रह गर्दा समेत सरकारी पक्षले सुनुवाइ नगरेको प्रधानाध्यापक श्रेष्ठले बताए ।
‘विद्यालय सरकारी जग्गामै बन्ने हो । विद्यालय नभत्काउन आग्रह गर्यौं,’ श्रेष्ठले भने, ‘हाम्रो कुराको सुनुवाइ भएन ।’
महानगरले विद्यालय भत्काउने जानकारी गराएपछि विद्यालयका सामग्रीहरू नजिक रहेको अर्को विद्यालय तरुण माविमा सारिएको छ । तत्कालका लागि आश्रयस्थलका रूपमा तरुण मावि भएपनि दीर्घकालीन समाधान नभइसकेको प्राधानाध्यापक श्रेष्ठले बताए । उनले भने, ‘विद्यायलयका समान सबै सार्यौं । विद्यार्थीहरूलाई पनि त्यहीं आउन भनेका छौं । अब कसरी पढाउने अन्योलमा छौं ।’
१६ कोठे विद्यालयमा अधिकांश मजदुरका बाल बच्चाहरू पढ्दै आएको विद्यालयले जानकारी गराएको छ ।
