नेप्का गाउँमा आएको बाढीले विद्यालय, घर तथा कृषि बालीमा क्षति


हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा आएको बाढीका कारण विद्यालय, घर, गोठ तथा कृषि बालीमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधिकारीबाट गरिएको स्थलगत निरीक्षणपछि प्रशासनले प्रेस विज्ञप्ति जारी गर्दै क्षतिको विवरण सार्वजनिक गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार २०८३ जेठ ५ गते राति करिब १० बजेदेखि १२ बजेसम्म परेको अविरल वर्षापछि आएको बाढीले गाउँमा क्षति पु¥याएको हो । बाढीले विद्यालय, पशुगोठ तथा खेतीयोग्य जमिनमा असर पु¥याएको स्थानीयवासीले बताएका छन् ।

बाढीका कारण डाँफे आधारभूत विद्यालयको कार्यालय, कम्प्युटर कक्ष, शिक्षक बस्ने निवास तथा विद्यालय परिसरमा लेदो जम्मा भएको छ । विद्यालय परिसरमा गेग्रान सहितको लेदो पसेपछि बिद्यालयको २ कोठाको प्रखाल समेत भत्किएको छ । विद्यालयका कम्प्युटर तथा पाठ्यसामग्रीमा समेत क्षति पुगेको प्रशासनले जनाएको छ ।

त्यस्तै स्थानीय रतन सिंह तामाङको घर तथा गोठ पूर्ण रूपमा क्षति भएको छ भने छिमेकीको घरमा समेत असर परेको छ । तामाङको गोठमा रहेका धनसिंह तामाङ ५३ वटा भेडामध्ये ४३ वटा मरेका छन् भने बाँकीको उद्धार कार्य भइरहेको बताइएको छ ।

प्रशासनका अनुसार बाढीले करिब १ दशमलव ५ देखि २ किलोमिटर क्षेत्रफलमा फैलिएको खेतीयोग्य जमिनमा लगाइएको सिमी, गहुँ, आलु, मकै, चिनो तथा तरकारी बालीमा क्षति पु¥याएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटनास्थल पुगेर क्षतिको विवरण संकलन गर्नुका साथै अवरुद्ध सामग्री हटाउने कार्य गरिरहेको जनाएको छ ।

उक्त क्षेत्रमा खानेपानी तथा पानी संकलन गर्ने पाइपमा समेत क्षति पुगेको छ । यद्यपि लघु जलविद्युत आयोजनाको मुख्य संरचनामा क्षति नदेखिए पनि टर्बाइनमा लेदो मिसिएको पानी पसेकाले विद्युत सेवा प्रभावित भएको जानकारी प्रशासनले दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले विपद्बाट प्रभावित स्थानीयप्रति सहानुभूति व्यक्त गर्दै राहत, सहयोग र पुनःस्थापनाका लागि सबै सरोकारवालासँग समन्वय भइरहेको जनाएको छ ।

प्रकाशित मितिः     ६ जेष्ठ २०८३, बुधबार २०:५४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *