दुई विद्यालयलाई उपाध्यक्ष कोषबाट २ लाख बराबरका सामग्री


श्रीनगर । अुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर–१ स्थित जनकल्याण माध्यमिक विद्यालय र अदानचुली– २ मा रहेको मष्टादेब आधारभुत विद्यालयलाई आर्थिक वर्ष २०८२÷०८३ को बजेट अन्तर्गत उपाध्यक्ष कोषबाट विनियोजित करिब २ लाख रुपैयाँ बराबरका जिन्सी सामग्री हस्तान्तरण गरिएको छ ।

विद्यालयका शिक्षक नर महताराले दिएको जानकारी अनुसार विद्यालयको कार्यालय व्यवस्थापन, शिक्षक कर्मचारीहरूको कार्यसम्पादन सहज बनाउने तथा शैक्षिक वातावरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको हो । गाउँपालिकाको शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्ने नीति अनुसार यस वर्ष पनि विद्यालयलाई आवश्यक सामग्री प्रदान गरिएको उहाँले बताउनुभयो ।

विद्यालयलाई हस्तान्तरण गरिएका सामग्रीहरूमा १ थान हेभी टेबल, १ थान स्पिकर, २ सेट सोफा, ३ थान हेभी बेञ्च, २ थान टी–टेबल, २ थान रिभल्भिङ चियर, १ थान स्टिल दराज, १ थान प्रोजेक्टर स्ट्यान्ड तथा १५ मिटर कार्पेट रहेका छन् । विद्यालयको प्रशासनिक कामलाई व्यवस्थित बनाउन र बैठक तथा कार्यक्रम सञ्चालनमा सहजता ल्याउन यी सामग्री उपयोगी हुने विद्यालय प्रशासनले जनाएको छ ।

उक्त जिन्सी सामग्री कण रोकायाले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको उपस्थितिमा औपचारिक रूपमा विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उपाध्यक्ष रोकायाले सामुदायिक विद्यालयहरूको भौतिक तथा प्रशासनिक अवस्था सुधार गर्नु गाउँपालिकाको प्राथमिकता रहेको बताउनुभयो ।

उहाँले दुर्गम क्षेत्रमा रहेका विद्यालयहरूमा न्यून स्रोतसाधनका कारण पठनपाठन तथा कार्यालय सञ्चालनमा समस्या हुने गरेको उल्लेख गर्दै स्थानीय सरकारले शिक्षा क्षेत्रलाई विशेष महत्वका साथ अघि बढाइरहेको धारणा राख्नुभयो । विद्यालयहरूलाई आवश्यक पर्ने आधारभूत सामग्री क्रमशः उपलब्ध गराउँदै जाने र विद्यार्थीमैत्री वातावरण निर्माणमा गाउँपालिका प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले गाउँपालिकाले विद्यालयको आवश्यकता पहिचान गरी सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका छन् । उनीहरूले यस्ता सहयोगले विद्यालय सञ्चालन, बैठक व्यवस्थापन तथा शिक्षक कर्मचारीहरूको दैनिक कार्यसम्पादनमा सहजता पुग्ने बताएका छन ।

यसैगरी, विगतका वर्षहरूमा पनि अदानचुली गाउँपालिका भित्र रहेका अधिकांश सामुदायिक विद्यालयहरूलाई कार्यालय व्यवस्थापन तथा शैक्षिक सुधारका लागि विभिन्न जिन्सी सामग्री वितरण गरिसकिएको जानकारी प्राप्त भएको छ । गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयहरूको भौतिक पूर्वाधार, प्रशासनिक व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर सहयोग गर्दै आएको स्थानीयले बताएका छन ।

प्रकाशित मितिः     ६ जेष्ठ २०८३, बुधबार २१:०९  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *