कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ। प्रदेश प्रमुखको कार्यालयले शपथ समारोहका लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ।
कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता शाही नियुक्त हुनुभएको हो। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उहाँलाई मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो।
प्रदेश प्रमुखको कार्यालयका सचिव हीरालाल चौधरीका अनुसार मुख्यमन्त्रीले दिउँसो ३ बजे शपथ ग्रहण गर्ने जानकारी दिएपछि कार्यालयले सबै तयारी पूरा गरेको छ।
मुख्यमन्त्रीको शपथसँगै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा भने सत्तारूढ दुई दल नेकपा र नेकपा (एमाले)बिच छलफल जारी छ। मन्त्रालयको भागबन्डा, मन्त्रीको सङ्ख्या तथा जिम्मेवारी टुङ्ग्याउन दुवै दलका नेताबिच निरन्तर छलफल भइरहेको एमालेका एक नेताले बताउनुभयो।
दुवै दलबिच सहमति जुटेमा मुख्यमन्त्रीको शपथलगत्तै केही मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिने सम्भावना रहेको छ। यद्यपि मन्त्रालयको बाँडफाँट र मन्त्रीहरूको नाम भने अझै टुङ्गो लागिसकेको छैन।
