ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागीको कारण पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय हुम्लाले प्रहरी निरीक्षक युवराज ढकालको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको छ ।
आइतबार राति करिब पौने २ बजे अचानक गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो । आगलागीबाट गाउँपालिकाको लेखा शाखा, न्यायिक समिति सचिवालय तथा जिन्सी शाखामा रहेका महत्वपूर्ण कागजात, फर्निचर तथा अन्य सामग्री जलेर क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
आगलागी नियन्त्रणमा आएलगत्तै घटनाको अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी शंकर खड्काले बताउनुभयो । उहाँका अनुसार घटनाको निष्पक्ष अनुसन्धान गरी आगलागीको वास्तविक कारण पत्ता लगाउन प्रहरी निरीक्षक ढकालको नेतृत्वमा टोली गठन गरिएको हो ।
प्रहरीका अनुसार प्रारम्भिक विवरणमा काठका र्याक चार वटा, सुत्ने खाट एक, टेबल एक तथा सोलार ब्याट्री एक थान जलेको छ । आर्थिक वर्ष २०७३।०७४ देखि हालसम्मका विभिन्न कागजात समेत आगलागीबाट नष्ट भएको जानकारी प्राप्त भएको डीएसपी खड्काले बताउनु भयो ।
स्थानीय व्यवसायी नरवीर थापाका अनुसार आगलागी भएको थाहा पाएलगत्तै नजिकै रहेको प्रहरी चौकी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । गाउँपालिकाका केही कर्मचारीसमेत कार्यालय नजिकै बस्ने भएकाले समयमै स्थानीय तथा प्रहरीले आगो नियन्त्रणमा लिन सकेको उहाँको भनाइ छ ।
गाउँपालिकाको जिन्सी शाखामा राखिएको सोलार ब्याट्री पड्किएपछि थप क्षति भएको हुनसक्ने प्रारम्भिक अवस्था देखिए पनि आगलागीको वास्तविक कारण भने अहिलेसम्म पुष्टि भएको छैन । आगलागीका कारण कार्यालयको विद्युत वायरिङदेखि बल्बसम्म जलेका छन् । प्रशासन तथा जिन्सी शाखा प्रमुख विस्नुलाल सार्कीका अनुसार लेखा शाखा, न्यायिक समिति सचिवालय र जिन्सी शाखामा राखिएका अधिकांश श्रेस्ता तथा कागजात जलेर नष्ट भएको बताउनु भयो ।
यसैबीच, गाउँपालिकाले पनि घटनाको थप अनुसन्धानका लागि छुट्टै समिति गठन गरेको छ । घटनाको सूक्ष्म अनुसन्धान गरी दोषी देखिए कानुनी कारबाहीको दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय हुम्लालाई समेत अनुरोध गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो ।
प्रहरीले अनुसन्धानपछि मात्रै आगलागीको कारण र घटनामा कसैको संलग्नता भए,नभएकोबारे एकिन हुने जनाएको छ । अनुसन्धान टोलीले केही दिनभित्र प्रारम्भिक प्रतिवेदन तयार गर्ने तयारी गरेको प्रहरी प्रवक्ता समेत रहेका छानविन समितिका संयोजक युवराज ढकालले बताउनु भयो ।–––कालीबहादुर थापा
