हुम्लामा पनि बडादशैं सुरु, घरघरमा घटस्थापना गरी जमरा राख्दै ।


नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा हुम्लासहित देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राख्ने तयारी गरीरहेका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको साइत निर्धारण गरिएको थियो । समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा प्रतिपदा तिथि परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजको दिन तय गरिएको हो ।

घटस्थापनासँगै दुर्गा भवानीको पूजा आराधना गर्दै नौ दिनसम्म मनाइने नवरात्र सुरु भएको छ । बडादशैंलाई धार्मिक आस्था, पारिवारिक पुनर्मिलन, आपसी सद्भाव र सांस्कृतिक एकताको पर्वका रूपमा लिने गरिएको छ । हिमाली जिल्ला हुम्लामा पनि दशैंको सुरुआतसँगै चाडपर्वको रौनक बढ्ने अपेक्षा गरिएको छ ।

जिल्लाका विभिन्न बस्तीमा बसोबास गर्ने नेपालीले आफ्नो परम्परा र रीतिरिवाजअनुसार दशैं मनाउने तयारी गरेका छन्। रोजगारी, अध्ययन तथा अन्य कामका सिलसिलामा जिल्ला बाहिर रहेका आफन्तहरू घर फर्कने क्रमसँगै दशैंले पारिवारिक भेटघाट र मेलमिलापको अवसरसमेत जुटाउने गरेको छ ।

दशैंको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादशैंलाई नेपाली समाजमा असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा समेत लिने गरीएको धार्मिक माध्यता रहीआएको छ ।

प्रकाशित मितिः     २५ आश्विन २०८३, आईतवार १८:०८  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *