कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाको भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीसँग भेटघाट गर्नुका साथै गाउँपालिकामा सञ्चालित विकास निर्माण, स्वास्थ्य, शिक्षा र अन्य आधारभूत सेवाको अवस्थाबारे जानकारी लिनुभएको छ ।
नाम्खा गाउँपालिका पुगेका मन्त्री मल्ल नेतृत्वको टोलीलाई गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीले स्वागत गरेका छन् । टोलीको स्वागतपछि गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले हालसम्म सञ्चालन भएका विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी गतिविधिबारे जानकारी गराउनुभएको छ ।
अधिकृत शाहीले भौगोलिक विकटताका कारण विकास निर्माण तथा नागरिकलाई आधारभूत सेवा उपलब्ध गराउन कठिनाइ भइरहेको उल्लेख गर्दै गाउँपालिकाको समग्र विकासका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले विशेषगरी स्वास्थ्य सेवा, शैक्षिक गुणस्तर सुधार, सडक तथा अन्य भौतिक पूर्वाधार विकासका क्षेत्रमा सहयोग गर्न मन्त्री मल्लसमक्ष विभिन्न माग प्रस्तुत गर्नुभएको थियो ।
स्थानीय तहबाट प्राप्त माग तथा समस्यालाई सम्बोधन गर्न आवश्यक पहल गर्ने मन्त्री मल्लले प्रतिबद्धता जनाउनुभएको छ । उहाँले स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा नागरिकले उठाएका विषयलाई सम्बोधन गर्न आफूले पहल गर्ने बताउनु भएको हो । यसैबीच, मन्त्री मल्ल नेतृत्वको टोलीले नाम्खा गाउँपालिकास्थित आनी गुम्बा होस्टेल, स्वास्थ्य संस्था तथा विद्यालयको समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा सम्बन्धित संस्थाको अवस्था, सेवा प्रवाह तथा भौतिक पूर्वाधारका विषयमा जानकारी लिइएको नेपाल पत्रकार महासंघ हुम्ला शाखाका सचिव नन्द सिंहले जानकारी दिनुभयो ।
नाम्खा भ्रमणका क्रममा मन्त्री मल्लले याल्वाङलगायतका क्षेत्रमा नेकपा (एमाले) मा आबद्ध नेता तथा कार्यकर्तासँग समेत भेटघाट गर्नुभएको थियो । उहाँले स्थानीयस्तरमा रहेका विकासका सम्भावना र समस्याबारे जानकारी लिनुभएको बताइएको छ । यसअघि आइतबार बिहान सदरमुकाम सिमकोटस्थित विजय होटलमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सामाजिक विकासमन्त्री मल्लले मन्त्रालयमार्फत भइरहेका काम तथा गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका भौगोलिक विकटताका कारण सडक, स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत सेवाको पहुँच विस्तारमा चुनौती सामना गर्दै आएको छ । यस्तो अवस्थामा प्रदेश सरकारबाट आवश्यक सहयोग प्राप्त भए स्थानीयस्तरमा सेवा प्रवाह सुधार तथा विकास निर्माणका कामलाई अगाडि बढाउन सहज हुने गाउँपालिकाको अपेक्षा छ ।
