देवल आधारभूत विद्यालय माध्यमिक तहमा स्तरोन्नति, विद्यार्थीलाई सहज


  तुम्च, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देवल आधारभूत विद्यालय माध्यमिक विद्यालयमा स्तरोन्नति भएको छ। आइतबार आयोजित एक कार्यक्रमका बीच विद्यालयलाई औपचारिक रूपमा माध्यमिक तहमा स्तरोन्नति गरिएको हो।

वि.सं. २०४४ सालमा प्राथमिक तहबाट स्थापना भएको विद्यालय २०६८ सालमा निम्न माध्यमिक तहमा स्तरोन्नति भएको थियो। लामो समयको प्रयास र स्थानीय समुदायको मागपछि विद्यालयले अब माध्यमिक तहको मान्यता प्राप्त गरेको हो।

माध्यमिक विद्यालयको उद्घाटन सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले गर्नुभएको विद्यालयका प्रधानाध्यापक मदन बुढाले जानकारी दिनुभयो। कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

यसअघि तुम्च क्षेत्रका विद्यार्थीहरूले कक्षा ८ उत्तीर्ण गरेपछि थप अध्ययनका लागि सोही वडाको जैरसम्म करिब चार घण्टा पैदल यात्रा गरी अध्ययन गर्नुपर्ने बाध्यता थियो। केही विद्यार्थी मुगुको सोरु गाउँपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय, लिब्रु तथा अदानचुली गाउँपालिकाको सूर्योदय माध्यमिक विद्यालय, श्रीनगरमा अध्ययनका लागि जान बाध्य थिए।

विद्यालय माध्यमिक तहमा स्तरोन्नति भएसँगै अब तुम्चका विद्यार्थीहरूले आफ्नै गाउँमा बसेर माध्यमिक तहसम्मको शिक्षा हासिल गर्न पाउने भएका छन्। यसले विद्यार्थीको शैक्षिक पहुँच बढाउनुका साथै अभिभावकको आर्थिक भार र विद्यार्थीको लामो दूरी हिँड्नुपर्ने समस्या समेत समाधान हुने अपेक्षा गरिएको छ।

स्थानीयवासीले विद्यालयको स्तरोन्नतिलाई क्षेत्रको शैक्षिक विकासका लागि ऐतिहासिक उपलब्धिको रूपमा लिएका छन्। विद्यालय व्यवस्थापन समिति र सरोकारवालाले आगामी दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यालयलाई नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिगतमा जिर्ण भौतिक संरचना, असुरक्षित कक्षाकोठा तथा खानेपानीको अभावजस्ता समस्यासँग संघर्ष गरिरहेको देवल माध्यमिक विद्यालयको अवस्था सुधारमा विभिन्न पक्षको महत्वपूर्ण योगदान रहेको छ। विद्यालयका समस्या उजागर गर्दै सञ्चारकर्मी मोहनसिंह बुढा र कालि बहादुर थापाले रेडियो श्रीनगर लगायत विभिन्न सञ्चार माध्यममार्फत निरन्तर समाचार सम्प्रेषण गरे।

विद्यालयको समस्या समाधानका लागि वडा नं. १ का वडा अध्यक्ष बलबहादुर कार्की, सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया, पूर्व उपाध्यक्ष स्वर्गीय चन्द्रसिंह कार्की तथा उपाध्यक्ष देवकी तिमल्सिनाले विशेष पहल गरेका थिए। साथै SWAN संस्था, फेज नेपाल, सिप नेपाल, कर्णाली प्रदेश सरकार र सर्केगाड गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालयका धेरै समस्या समाधान भएका छन्।

सामूहिक प्रयास, निरन्तर खबरदारी र सरोकारवाला निकायहरूको सहयोगकै परिणामस्वरूप देवल माध्यमिक विद्यालयको स्वरूप फेरिएको छ। आज विद्यालयले नयाँ पहिचान र सम्भावनासहित शैक्षिक विकासको नयाँ यात्रा तय गरिरहेको छ । अब विद्यालयलाइ शिक्षक दरबन्दीको आवश्यक रहेको छ ।

प्रकाशित मितिः     १ असार २०८३, सोमबार ०७:३२  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *