चङ्खेली गाउँपालिकामा बिमा सम्बन्धी अन्तरक्रिय


चङ्खेली । नेपाल बिमा प्राधिकरणको आयोजनामा चङ्खेली गाउँपालिकासँग एकदिने बिमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका सहायक निर्देशक भिमबहादुर माझीले बिमाको महत्व, आवश्यकता, विभिन्न बिमा योजनाहरू तथा नागरिकले प्राप्त गर्न सक्ने लाभका विषयमा प्रशिक्षण दिनुभएको थियो।

उहाँले प्राकृतिक विपत्ति, दुर्घटना तथा अन्य जोखिमबाट हुने आर्थिक क्षति न्यूनीकरणका लागि बिमा प्रभावकारी माध्यम भएको बताउँदै बिमा सम्बन्धी जनचेतना विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

बिमाका सहायक निर्देशक बिपना पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चङ्खेली गाउँपालिका उपाध्यक्ष प्रेमकला शाही प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद आचार्य, वडा नम्बर ४ का वडा अध्यक्ष पदमबहादुर शाही, गाउँपालिकाका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले बिमा सम्बन्धी जिज्ञासा राख्दै स्थानीय तहमा बिमाको पहुँच विस्तार, कृषि तथा पशु बिमालाई प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए। गाउँपालिकाका जनप्रतिनिधिहरूले बिमा सम्बन्धी सचेतना अभिवृद्धिका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए।

­

मोहनसिंङ बुढा

कार्यक्रमले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूलाई बिमाको महत्वबारे थप जानकारी गराउँदै बिमा सेवाप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

प्रकाशित मितिः     ४ असार २०८३, बिहीबार १५:२१  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *