वर्षाको सम्भावना, जिल्ला प्रशासन कार्यालायद्वारा सतर्क रहन आग्रह


हुम्ला — देशभर आगामी केही दिन मौसममा परिवर्तन आउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय हुम्लामा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको अध्यक्षतामा बसेको जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठकले मौसमजन्य विपद्को जोखिम न्यूनीकरणका लागि विभिन्न निर्णय गरेको हो।

नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी सूचनाअनुसार २०८३ असोज १९ देखि २१ गतेसम्म हुम्लाका केही स्थानमा भारी तथा केही भागमा मध्यम वर्षा हुनसक्ने भएकाले सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न स्थानीय तह र सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन भनिएको छ।

बैठकले जिल्लाका सबै पालिकालाई मौसमसम्बन्धी जानकारी नागरिकसम्म पुर्‍याउन तथा नागरिकलाई सतर्क रहन सूचना प्रवाह गर्न आग्रह गरेको छ। साथै, यातायात व्यवसायीलाई पनि असोज ९ देखि ११ गतेसम्म मौसमको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरिएको छ।

सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि स्वास्थ्य कार्यालय, हुम्ला तथा पालिकामातहतका स्वास्थ्य केन्द्र र नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा रहन भनिएको छ। पत्रकार महासंघ तथा जिल्लाका रेडियोहरूलाई पनि जोखिमसम्बन्धी सूचना नियमित प्रसारण गर्न अनुरोध गरिएको छ।

त्यस्तै, निर्माण व्यवसायी संघ तथा निर्माण क्षेत्रमा रहेका व्यवसायीलाई आवश्यक परेको समयमा लोडर, एक्स्काभेटर, जेसीबी लगायतका मेसिनरी तथा उपकरण तत्काल प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न आग्रह गरिएको छ।

होटल व्यवसायी तथा पर्यटन व्यवसायीलाई पनि सम्भावित जोखिमलाई ध्यान दिँदै जिल्लाका माथिल्लो तथा तल्लो क्षेत्रमा जाने पर्यटकलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ।

प्रशासनले मौसममा आएको परिवर्तनलाई ध्यान दिँदै विशेषगरी यात्रा गर्दा सावधानी अपनाउन र सम्भावित जोखिमयुक्त स्थानमा नजान नागरिकलाई आग्रह गरेको छ।

प्रकाशित मितिः     ८ आश्विन २०८३, बिहीबार १२:०८  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *