रिपोर्टिङमा गएका पत्रकारमाथि प्रहरीको दुर्व्यवहार


कार्तिक २८ आईतबार,हुम्ला । हवाईजहाजको टिकट नपाएर अलपत्र परेका यात्रुको आवाज उठाउन रिपोर्टिङमा गएका पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको छ । जहाजको टिकट नपाएर हुम्लाको सिमकोट विमानस्थलमा सैयौँ यात्रु अलपत्र परेको विषयको रिपोर्टिङ गर्न गएका पत्रकारलाई विमास्थलका सुरक्षा गार्डले दुर्व्यवहार गरेका हुन् ।

दुई सातादेखि विमानस्थलमा घुइँचो लागेर टिकट नै नपाएको विषयमा पत्रकारले रिपोर्टिङ गर्न खोज्दा नेपाल टेलिभिजन र नयाँ पत्रिकाका हुम्ला जिल्ला संवाददाता नरजन तामाङलाई विमानस्थलमा खटिएका सई देवबहादुर खड्काले दुर्व्यवहार गरेका हुन् । सर्वसाधारणले सजिलै टिकट नपाएपछि विमानस्थलको गेटमा रहेका यात्रुको फोटो खिच्न खोज्दा प्रहरी सई खड्काले दुर्व्यवहार गरेका थिए ।

यतिखेर विमानस्थलमा जिल्ला बाहिर जानका लागि सयौं विद्यार्थी तथा विरामीहरुको घुइँचो लागेको छ । तर, उनीहरु सबै टिकट नपाएर रित्तो हात फिर्ता हुन बाध्य छन् भने पहुँचवाला व्यक्तिहरु मात्रै जिल्लाबाहिर जान पाएका छन् । प्रहरीले गरेको दुर्व्यवहारप्रति इन्सपेक्टर दानसिंह भण्डारी र दामु पुनलाई कुरा गर्दा उल्टै इन्स्पेक्टर पुनले प्रहरीमाथि दुर्व्यवहार भएको आरोप लगाए ।

तर, अर्का इन्स्पेक्टर भण्डारीले भने यसको सहजीकरणका लागि उपयुक्त विकल्पबाट जान पत्रकारलाई अनुरोध गरेका थिए । टिकट नपाउँदा कतिपय विद्यार्थीहरुको परीक्षा समेत छुटेको छ । सर्वसाधारणका समस्या बेवास्ता गर्दै हवाई कम्पनीका कर्मचारीले पावर र पहुँचका भरमा टिकट वितरण गरेका छन् ।

स्थानीय प्रशासन, जनप्रतिनिधि लगायत सरोकारवाला निकाय भने मौन छन् । दिनरात नभनी टिकटका लागि लाइनमा बसेका विरामी र विद्यार्थीका बारेमा नागरिक उड्डयन मन्त्रालय मौन छ । जिल्लामा दैनिक रातको ४ बजेदेखि सर्वसाधरण नागरिकहरु निजी हवाई कम्पनीका कार्यालयमा लाइन बसेका हुन्छन, तर पनि टिकटको टुंगो हुँदैन ।

प्रकाशित मितिः     २८ कार्तिक २०७८, आईतवार ०७:४३  |