विषादी सेवनबाट सिमकोट गाउँपालिका–७ निवासी राजेन्द्र शाहीकी श्रीमती अन्दाजी २१ वर्षीया जिल्सा सिंह शाहीको मृत्यु भएको छ ।
हुम्ला जिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका ७ की सिंह पुस २० गते आइतबार सिमकोट गाउँपालिका–६ अन्तर्गतको माथिल्लो गाउँ तिनधारा नजिक बाटोमा शाही अचेत अवस्थामा फेला परेकी थिइन् । स्थानीयले अचेत अवस्थामा देखेपछि तत्काल जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालयले सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय हुम्लाबाट सहायक हवल्दार केशवराज जैसीको कमाण्डमा खटिएको प्रहरी टोलीले शाहीलाई उद्धार गरी तत्काल जिल्ला अस्पताल हुम्ला पुर्याएको थियो । उपचारका क्रममा उनले नाम नखुलेको विषादी सेवन गरेको बताएकी थिईन् यता नेपाल प्रहरीले अचेत अवस्थामा फेला परेको ठाउँमा जिंक फोर्सेट नामक विसादी समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख विष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
आइतबार साँझ करिब ६ बजे अस्पताल भर्ना गरिएकी शाहीको सोमबार दिउँसो करिब ३ः३० बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख विष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
घटनाबारे श्रीमान–श्रीमतीबीच घरेलु विवादपछि औषधि सेवन गरिएको भन्ने हल्ला चले पनि हालसम्म औषधि सेवन गर्नुको यथार्थ कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनाको वास्तविक कारण पत्ता लगाउन गहन अनुसन्धान भइरहेको इन्स्पेक्टर श्रेष्ठले बताउनुभयो ।
