मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु ।


मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

शनिबार बिहान करिब ४ बजे मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारस्थित पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका छायानाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उहाँकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा घरमाथिबाट ढुंगासहितको पहिरो खसेको थियो ।

पहिरोमा पुरिएका रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पुलु स्वास्थ्य चौकी पुर्‍याएको थियो । बिहान ४ः४८ बजे स्वास्थ्य चौकी पुर्‍याइएका बालकलाई चिकित्सकले बिहान ५ः४५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रबिराज थपलियाका अनुसार पहिरोमा परी जगनाथ र सृजना सामान्य घाइते हुनुभएको छन् । उहाँहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।

पहिरोले उक्त घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ । थप क्षतिको जोखिम बढेपछि आसपासका आठ घरका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रकाशित मितिः     ९ श्रावण २०८३, शनिबार १०:२९  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *