तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुआत गरेको छ ।
सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टिअघि छ दिनसम्म सार्वजनिक श्रद्धाञ्जलि कार्यक्रम सञ्चालन गरिनेछ । यस अवधिमा इराकमा पनि शोक ¥यालीहरू आयोजना गरिने कार्यक्रम छ ।
घटनास्थलमा रहेका एएफपीका पत्रकारका अनुसार खामेनीको शव राखिएको बाकस समारोहस्थलमा ल्याइनुअघि नै हजारौँ शोकाकुल नागरिक तेहरानस्थित ग्रान्ड मोसाल्लाको प्राङ्गणमा भेला भएका थिए । उनीहरूले अमेरिका विरुद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए ।
अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा परी गत फेब्रुअरी २८ मा मारिएका इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको सातदिने अन्त्येष्टि प्रक्रिया शुक्रबारदेखि तेहरानमा सुरु भएको छ। अन्त्येष्टि तथा शोकसभामा सहभागी हुन विश्वका १०० भन्दा बढी देशका राष्ट्रप्रमुख तथा उच्च कूटनीतिक प्रतिनिधिहरू इरान आइपुगेका छन्।
खामेनीको कफिनमा श्रद्धाञ्जली दिन पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ, सेनाप्रमुख आसिम मुनिर, साउदी अरेबियाका उपपरराष्ट्रमन्त्री वालिद अल–खुरैजी र अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकी तेहरान पुगेका छन्। सोही आक्रमणमा ज्यान गुमाएका खामेनीकी छोरी, बुहारी, ज्वाइँ र ३ वर्षीया नातिनीको शव पनि सँगै राखिएको छ। इरान र इराकका विभिन्न धार्मिक सहरहरू हुँदै आगामी ९ जुलाईमा खामेनीको जन्मस्थान मशहदमा अन्तिम संस्कार गरिनेछ।तनावपूर्ण क्षेत्रीय परिस्थितिका बीच इरानी अधिकारीहरूले कडा राजनीतिक र सैन्य सन्देशहरू जारी गरेका छन्।
इरानी संसद्का सभामुख तथा मुख्य वार्ताकार मोहम्मद बगेर गालिबाफले युद्ध अन्त्य गर्ने प्रतिबद्धताहरू पालना नभए कडा कदम चाल्ने चेतावनी दिएका छन्। ‘हामी सम्झौताहरूको पूर्ण कार्यान्वयनको जोडदार माग गर्दछौं, यदि अमेरिका र जियोनिस्ट शासक आफ्ना प्रतिबद्धताहरू पूरा गर्न असफल भएमा इरानले पुनः जवाफी कारबाही सुरु गर्नेछ,’ उनको भनाइ थियो।
खामेनीप्रति श्रद्धाञ्जली अर्पण गर्न इरानका राष्ट्रपति मसुद पेजेश्कियान लगायत देशका उच्च नेतृत्व शुक्रबार तेहरान पुगेका छन् । तर सुरक्षाका कारण खामेनीका छोरा मोज्तबा खामेनी भने सहभागी भएका छैनन् । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार नेता खामेनीको अन्त्येष्टि समारोहमा एक सयभन्दा बढी देशका प्रतिनिधिहरू सहभागी भएका छन् । यद्यपि रुस, टर्की, चीन, भारत लगायत राष्ट्रका शीर्ष नेताहरू भने अनुपस्थित रहे । इरानबाट निमन्त्रणा पाएका भए पनि उनीहरूले तल्लो तहका प्रतिनिधिहरू मात्र पठाएका छन् ।
पाकिस्तान, इराक, आर्मेनिया, ताजिकिस्तान र जर्जियाजस्ता देशका शीर्ष नेताहरू समारोहमा सहभागी भएका छन् । इरानका पूर्व सर्वोच्च नेता खामेनीलाई अन्तिम बिदाइ गर्न बिहानैदेखि तेहरानमा हजारौं मानिसहरू भेला भएका छन् । कालो पहिरनमा सजिएका मानिसहरूले झन्डा र ब्यानरहरू बोकेका छन् । हजारौं मानिसहरू छाती पिट्दै शोक प्रकट गरिरहेको पनि देखिएको छ ।
२७ वर्षीया हनान्नेह मौसावी आफ्नी आमासँग समारोहमा पुगिन् । उनले भनिन्– म मेरा प्रिय नेता अली खामेनीलाई अन्तिम बिदाइ गर्न आएकी हुँ । यस्तो दिन देख्नुपर्ला भनेर मैले कहिल्यै कल्पना गरेकी थिइनँ । यो दुःखद घटना हुनुअघि नै मेरो मृत्यु भएको भए हुन्थ्यो भन्ने मलाई लाग्छ । खामेनीको अन्त्येष्टिका लागि तेहरानका सडकहरूमा ठूलो संख्यामा प्रहरी र सेना परिचालन गरिएको छ ।
तेहरानका सबै मुख्य सडक, चोक र सरकारी भवनहरू बाहिर सेना तथा प्रहरी बल परिचालन गरिएको छ । मुख्य सडकहरूमा सैन्य सवारी साधनहरूले गस्ती गरिरहेका छन् । अन्त्येष्टि यात्राको मार्गमा पर्ने सहरहरू (तेहरान, कोम र मशहद)माथिको हवाई क्षेत्रमा अस्थायी रूपमा प्रतिबन्ध लगाइएको छ ।
अर्धसैनिक बासिज बलका सदस्यहरू मोटरसाइकलमा तेहरान सहरभरि निरन्तर गस्ती गरिरहेका छन् । बासिज बल इरानका सर्वोच्च नेताप्रति वफादार एक स्थल सेना हो, यसले आवश्यकता पर्दा सडकमा शान्ति सुरक्षा कायम राख्न हतियार उठाउँछ ।
